जलविद्युत आयोजना सम्बन्धि मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडौ । पुस ४, सरकारले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ ।
सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आईतवार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि. प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको बताए ।
उनले सरकारले माथिल्लो फावाखोला जलविद्युत आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको पनि बताए । मन्त्री कार्कीले संरक्षण क्षेत्र भित्रका जलविद्युत आयोजनाका लागि थप सर्त समावेश गर्ने निर्णय भएको बताए ।
उनले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने बताए । उनले खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको बताए ।
उनले मौसमी कामदार व्यवस्थापन निर्देशिका,२०७९ स्वीकृत गर्ने निर्णय भएको बताए । त्यस्तै मन्त्री कार्कीले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधाम स्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृत दिने बताए ।