नेपाल–भारत सीमामा पर्ने धनगढी क्षेत्रमा गोली चल्यो

काठमाडौ । पुस ५, सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गोली चलेको छ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिका–९ को जुगेडामा आज बिहान तीन बजेतिर दुई राउण्ड गोली चलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले सीमा क्षेत्रमा राति गोली चलेको पुष्टि गरे ।
उनकाअनुसार स्थानीय प्रजापती विष्टको घरमा चोरी गर्ने उद्देश्यले ३/४ जना अपरिचित व्यक्तिको समूह प्रवेश गरेको थियो । सो क्रममा विष्टले थाहा पाएपछि उनीमाथि हातपात भएको थियो । उनी घाइते छन् ।
उक्त समूह विष्टको घरबाट गएपछि सीमा क्षेत्रमा दुई राउण्ड गोली चलेको डीएसपी जोशीले बताए । उनले गोली चलाउने व्यक्तिको पहिचान नभएको बताए । गोलीका खोकाहरु फेला परेको उनले बताए ।
विष्टमाथि भने गोली प्रहार नभएको प्रहरीको भनाइ छ । लछारपछार गर्ने क्रममा उनी घाइते भएको डीएसपी जोशीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुई वर्ष अघि जुगेडामा तस्करको समूहले दुई जना प्रहरीको हत्या समेत गरेका थिए । आइतबार साँझ मात्र कैलालीको अत्तरियामा अज्ञात समूहको गोली प्रहारबाट सुन व्यवसायी घाइते भएका थिए ।