भारतसँगको विद्युत् व्यापारमा यस वर्ष निर्यात बढी र आयात कम
काठमाडौ । पुस ५, यस वर्षको ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।
देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् १९ जेठ २०७९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो ।
भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।
सुरुमा दुईवटा जलविद्युत् केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।
प्राधिकरणले गएको १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै आठ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता चार सय आठ मेगावाट रहेको छ ।
प्राधिकरणले गएको आर्थिक वर्ष २०७८र७९को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चालु आव २०७९र८० को ३ पुससम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरी आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार रुपैयाँ आर्जन गरिएको छ ।
चिसो बढ्दा काठमाण्डौ उपत्यकालगायतको विद्युत् माग बढेको तर खोलानालामा पानीको बहाव घट्दा नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरुबाट उत्पादन कम भएसँगै विद्युत् निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत् माग धान्न भारतबाट विद्युत् आयात गर्नु पर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गर्नुभयो ।
घिसिङले वैशाख अन्तिम र जेठको पहिलो हप्ताबाट फेरि विद्युत् निर्यात सुरु हुने बताउनुभयो । प्राधिकरणले आईएक्सको प्रतिस्पर्धी बजारमा विद्युत् बिक्री र खरिद गर्दै आएको छ ।
आईएक्समा विद्युत् खरिदबिक्रीका लागि २४ घण्टालाई १५र१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले ३ पुससम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट आठ रुपैयाँ २२ पैसा रहेको छ ।