नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा अध्ययन गर्दै

सहयात्रा टिभी

काठमाडौं । पुस ७, पूर्वी नवलपरासीको नर्सरीदेखि कक्षा १० सम्म एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ मा रहेको संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका छन् ।

जुम्ल्याहा विद्यार्थी अध्यापन गराउँदै आउनुभएका शिक्षकसँग पनि फरक खालको अनुभव रहेको छ । २०४६ सालमा स्थापना भएको यस विद्यालयले आफ्नो ३३औँ वार्षिकोत्सवमा मङ्गलवार जुम्ल्याहा सन्तान र उनीहरुका अभिभावकलाई सम्मान गरेको छ ।

नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रध्यानाध्यपक भोजराज दाहालले बताउनुभयो । पहिले पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए, एकैपल्ट यतिधेरै जुम्ल्याहा विद्यार्थी पढ्न आएका यसपटक नै हो, यो आफैँमा दुर्लभ संयोग होु, दाहालले भन्नुभयो, एउटै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हामीसँग हुँदा गर्व लागेको छ ।

जुम्ल्याहा विद्यार्थी एउटै कक्षामा रहेकाले ऊनीहरुमा सहकार्य प्रतिस्पर्धाको भावना रहेको विद्यालयका सामाजिक शिक्षक ईश्वर पौडेल बताउनुहुन्छ । विद्यार्थीलाई अध्यापन गराउने क्रममा शिक्षक अनुहारमा एकरुपता भएकाले कहिलेकाहीँ झुक्किने गरे पनि जुम्ल्याहा जोडीसँग व्यवहार गर्न सजिलो हुने पौडेल बताउनुहुन्छ । तेह्र जोडी जुम्ल्याहा विद्यार्थी अरु विद्यार्थीजस्तै पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहने गरेका उहाँले बताउनुभयो ।

जुम्ल्याहा सन्तान जन्मिँदा सुरुका केही वर्ष हुर्काउन बढाउन सम्स्या भएको भए पनि दुवै सन्तानले सँगसँगै प्रगति गरेको देख्दा भने फरक खालको खुसी महसुस हुने गरेको कावासोती–२ का जुम्ल्याहा सन्तानका पिता रिसिकान्त सापकोटा बताउनुहुन्छ ।

जुम्ल्याहा सन्तानलाई आमाको दूध, पोषणलगायतका कुराहरु आवश्यक मात्रमा पुर्याएर सुरु सुरुमा हुर्काउन गाह्रो भए पनि हुर्किँदै गएपछि धेरै कुराहरु मेल खाने भएकाले उनीहरुलाई बुझ्न झनै सजिलो हुने सापकोटा बताउनुहुन्छ । सँगै पढ्ने, सँगै खेल्ने, एकअर्काको भावना अरु बच्चाहरुले भन्दा छिट्टै बुझ्ने भएकाले पनि रमाइलो लाग्छु, उहाँले भन्नुभयो ।

 

 

प्रकाशित : 22 December, 2022

प्रतिक्रिया दिनुहोस्