डा. गंगालाल तुलाधर : प्रकृतिलाई मासेर भइरहेको डोजर आतङ्क बन्द हुनुपर्ने

सहयात्रा टिभी

काठमाडौं । पुस २७, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले विकासको नाममा जथाभाबी प्रकृतिको दोहन गर्न नहुने बताउनुभएको छ ।

आज बुधवार काठमाण्डौमा भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा माननीयज्यूहरूको भूमिकाु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. तुलाधरले यस्तो बताउनुभएको हो ।

उहाँले नननिर्वाचित सांसदहरूले विकासका नाममा भइरहेका अनैतिक क्रियाकलाप रोक्न संसदमा आफ्नो आवाज बुलन्द गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

विपद् जोखिम न्यूनीकरणका लागि विज्ञहरूसँग आवश्यक परामर्श गरेरमात्रै विकास निर्माण गर्न उहाँको सुझाव छ । उपमहासचिव तुलाधरले पछिल्लो समय देशका धेरैजसो क्षेत्रमा डोजर आतङ्क बढेको भन्दै प्रकृतिलाई मासेर भइरहेको डोजर आतङ्क तत्काल बन्द हुनुपर्ने बताउनुभयो ।

उहाँले नेता, सांसद र मन्त्रीहरूले नै विपद् जोखिम न्यूनीकरणका लागि आ–आफ्नो क्षेत्रमा विज्ञहरूको सल्लाहअनुसार मात्रै विकास निर्माणका गतिविधिलाई अघि बढाउनुपर्ने सुझाव दिनुभयो ।

आउँदा दिनमा सरकारले जोखिम स्थानको पहिचान गरी वैज्ञानिक, भूगर्भविद्, समाजशास्त्री, विपद् व्यवस्थापन विज्ञहरूको सुझावका आधारमा विकास निर्माणलाई अघि बढाउन नसक्ने हो भने देशले विपद्को ठूलो दुर्घटना भोग्नुपर्ने चेतावनी दिनुभयो ।

उहाँले संसदमा विपद् जोखिम न्यूनीकरणका लागि कुरा उठाउँदा अर्को चुनावमा हारिन्छ कि भन्ने डरले त्रस्त हुन आवश्यक नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म माननीयज्यूहरूलाई भन्छु, हामी सबै जान्दछौँ भनेर घमण्ड नगर्नुहोला । हामीले विज्ञहरूको सल्लाह लिनुपर्छ । विज्ञानमा आधारित जोखिम संवेदनशील विकासका क्रियाकलाप गर्नुपर्छ । कमसेकम डोजर आतङ्क तत्काल बन्द हुनुपर्छ । पश्चिमतिर जाँदा अहिले छपक्कै पहेँले किरा देख्छु म ।

पहेँलो किरा भनेको अरू केही होइन, त्यो डोजर हो । पाखैभरि डोजर कुँदेका हुन्छन् । डोजरमा रहेको ड्राइभरले कहिलेकाहीँ मन्त्री, सांसदले भनेको मान्दैनन् । अटेर गर्छ ।

त्यस्ता घटनाहरू विगतमा भएका छन् । डोजर ड्राइभरसँग वैज्ञानिकहरू पनि हुनुपर्छ । भूगर्भविद्हरू हुनुपर्छ । समाजशास्त्रीहरू हुनुपर्छ । विपद् व्यवस्थापन विज्ञहरू हुनुपर्छ ।

कुन ठाउँमा कसरी बाटो लैजाने भन्ने उहाँहरूको सल्लाहअनुसार लैजानुपर्छ । विकासको नाममा डोजर आतङ्कले हजारौँ मानिस मारिएको छ ।’

उपमहासचिव तुलाधरले विकास निर्माणसँगै विपद् न्यूनीकरण गर्ने कुरामा कसैले पनि बहानाबाजी गरेर उम्किन नपाउने बताउनुभयो । उहाँले अहिले सरकारसँग आवश्यक कानुन, नीति, नियम र कोष रहेको भन्दै आवश्यक अध्ययन गरेरमात्रै अघि बढ्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो ।

उपमहासचिव डा. तुलाधरले जलवायु परिवर्तनका कारण अपत्यारिलो घटनाहरू बढ्दै गएका र यसमा तीन तहकै सरकारले आवश्यक चासो दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विपद् जोखिम न्यूनीकरणका लागि योजना र निर्देशिका बनाएर लागू गर्न साधन, स्रोतको अझै पनि अपुग रहेको बताउनुभयो ।

प्रकाशित : 11 January, 2023

प्रतिक्रिया दिनुहोस्