उपप्रधानमन्त्री श्रेष्ठले आफूले कसैको दबाब र प्रभावमा नपरि काम गर्ने
काठमाडौं । पुस २९, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले नागरिकलाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।
आज काठमाण्डौका सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा उहाँले आफूले कसैको दबाब र प्रभावमा नपरि नागरिकका समस्या समाधान गर्ने काममा लाग्ने बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटीले धेरै सडक बेहाल बनाएका छन् रु उहाँलाई कारबाही गर्न सक्नुहुन्छ रु भन्ने प्रश्नमा मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले नराम्रो गर्ने जो कोहीलाई कारबाही गर्नसक्ने निर्देशन दिएको बताउनुभयो ।
प्रधानमन्त्रीको निर्देशन नै आइसकेकाले त्यसैअनुसार काम हुने उहाँको भनाइ छ । मन्त्री श्रेष्ठले सडकमा समस्या देखिएपछि भाग्ने नभइ सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताउनुभयो । सरकारलाई भत्किएका र खाल्डा परेका सडक राखिराख्ने छुट अब नरहेको पनि उहाँको भनाइ छ ।
मन्त्री श्रेष्ठले सरकारले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदल यात्रुमैत्री बनाउने अभियानमा लागिसकेको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले देशको राजधानी काठमाण्डौका सडकको दुरावस्था हुनु राम्रो नभएको बताउनुभयो । उहाँले सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि बताउनु भयो ।