शुभम् पावरको माघ १८ गतेदेखि आइपीओ आउने
काठमाडौं । माघ १०, शुभम् पावर लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ जारी गर्न लागेको हो । शुभम् पावरले सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर थप गरि सर्वसाधारण लागि छुट्याएको थियो । जसअनुसार कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारण लागि छुट्याएको हो ।
यो मध्ये १०% अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । ५% अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ । बाँकी ४ लाख ८१ हजार ८ सय ८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् ।
यसमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ । यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।