भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आयो, ग्यासको बढ्यो
काठमाडौं । फागुन १७, भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको नयाँ लागत सूचीमा पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेको छ भने डिजेल तथा पेट्रोलको घटेर प्राप्त भएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार निगमलाई डिजेलको लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा ३ रुपैया ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको छ ।
अन्य सबै प्रकारका इन्धनको लागत घट्दा खाना पकाउने ग्यासको लागत भने बढेको निगम स्रोतको दाबी छ । निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।
पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ । निमगलाई गत आवको नोक्सानीबाट ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व भने बाँकी नै रहेको निगमले दाबी गरेको छ । लागत मूल्यअनुसार नेपाली बजारमा इन्धनको मूल्य घटाउने वा बढाउने निर्णय भने निगमले गर्न बाँकी छ ।