व्यापारीहरुले ब्याजदर वृद्धिको विरोधमा आन्दोलन चर्काए
काठमाडौं । फागुन १८ , सुदूरपश्चिमका व्यापारीहरुले बैंक तथा वित्तीय संस्थाको मनलाग्दी ब्याजदर वृद्धिको विरोधमा आन्दोलन प्रदर्सन गरेको जानकारी प्राप्त भएको छ ।
ऋण लिँदाको ब्याजदरलाई दोब्बर वृद्धि गरेको भन्दै केही सातादेखि सुरु भएको आन्दोलनलाई थप चर्काएका हुन् । आन्दोलनरत व्यापारीहरुले बिहीबार ९आज० बैंकमा रकम जम्मा नगर्ने भएका छन् ।
उनीहरुले आज ‘नो डिपोजिट’ अभियान सञ्चालन गरिएको जनाएका हुन् । यसैबीच बुधबार व्यवसायीहरुले धनगढीस्थित राष्ट्र बैंकको प्रदेश कार्यालय घेराउसमेत गरेका थिए ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले कोरोना महामारीका कारण लामो समय व्यवसाय नै सुस्ताएको बेला बैंकको ब्याज अचानक बढेर दोब्बर भएपछि व्यवसायीहरू निकै समस्यामा परेको बताए ।
कैलाली उद्योग वाणिज्य संघले फागुन ५ गतेदेखि बैंकको व्याजदर विरुद्ध आन्दोलन थालेको हो । बैंकहरूले दोब्बर व्याज बढाएर बैंकिङ आतङ्क मच्चाएको आरोप व्यवसायीको छ ।
बैंकहरूले कायम गरेको चर्को ब्याज व्यवसायीको मात्रै समस्या नभएर यसले सम्पूर्ण उपभोक्तालाई महँगीको मारमा पारेको उनीहरुको भनाइ छ ।
राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन खारेज हुनुपर्ने र राष्ट्र बैंकको मौद्रिक नीति परिमार्जन गर्नुपर्ने माग उनीहरुले उठाएका छन् । आफ्ना मागप्रति सुनुवाइ नभए चैत १ गतेबाट कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी उनीहरुले दिएका छन् ।