चितवनमा अब बैशाख १ देखि प्याराग्लाइडिङ उडान हुने

काठमाडौं । चैत ५, सफारी पर्यटनमा चिरपरिचित चितवनमा अब प्याराग्लाइडिङ उडान हुने भएको छ ।
हवाई साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ आगामी बैशाख १ गतेबाट सुरु गर्ने गरी तयारी अगाडि बढाइएको छ ।
भरतपुर महानगरपालिका वडा नं. २९ चौकीडाँडा र कविलासबाट प्याराग्लाइडिङ उडानको सफल परीक्षण भैसकेको छ । चौकीडाँडा १२ सय मिटरको उचाइमा छ भने कविलास ५८० मिटरको उचाइमा छ ।
प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गराउने योजना छ । बैशाखबाट व्यावसायिक उडान गर्ने गरी हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीले पर्यटन विभागबाट अनुमति लिइसकेको छ ।
चौकीडाँडामा रिसोर्ट र प्याराग्लाडिङ्गका लागि ७० करोड खर्च लाग्ने अनुमान छ । कम्पनीले प्याराग्लाइडिङका लागि १.८५ नटिकल माइल वरपर उडान गर्ने अनुमति पाएको कम्पनीका अध्यक्ष घलेले बताए । चितवनमा प्याराग्लाइडिङ गर्न अनुमति पाउने यो पहिलो कम्पनी हो ।