किसानको सिँचाइ मिटरको बिल नगरपालिकाले तिरीदिने

काठमाडौँ । चैत २२, सिरहाको धनगढीमाई नगरपालिकामा किसानको सिँचाइ मिटरको बिल अब नगरपालिकाले तिरीदिने भएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरूप बिल भुक्तानी गर्न लागेको जानकारी मिलेको छ ।
कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने तथा किसानलाई प्रोत्साहन गर्न उद्देश्यमा ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत नगरपालिकाले सिँचाइको विद्युत् महसुल भुक्तानी गर्ने धनगढीमाई नगरपालिकाका मेयर शिवशङ्कर महतोले जानकारी दिनुभयो ।
नगरपालिकाले निःशुल्क बिजुली उपलब्ध गराउने भएपछि यहाँका किसान खुसी भएका छन् । धनगढीमाई नगरपालिकाले सुरु गरको ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ पालिकाले सञ्चालन गरेको योजनामध्ये नमुना भएको र यसबाट किसान खेतीतर्फ आकर्षित हुने स्थानीय किसानहरुको बुझाई छ ।
कृषि मिटरको महसुल भुक्तानीका लागि आउँदो वैशाख ४ गतेभित्र निवेदन, नगरिकता प्रमाणपत्रको प्रतिलिपि, २०७९ असारसम्मको भुक्तानी गरेको बिजुलीको सक्कली रसिद तथा २०७९ साउनदेखिको भुक्तानी दिन बाँकी सक्कली बिल र वडा कार्यालयको सिफारिसपत्र कृषि विकास शाखामा पेस गर्नुपर्ने छ ।