हावाहुरी र असिनाले धनुषाको बालीनालीमा ठूलो क्षति

काठमाडौँ । बैशाख ११, आइतबार राति आएको हावाहुरी र असिनाले धनुषाको बटेश्वर गाउँपालिकाको आँपखेती तथा अन्य बालीनालीमा ठूलो क्षति गरेको जानकारी प्राप्त भएको छ ।
भर्खरै चिचिला लागेको आँपमा र अन्य बालीनालीमा असिनाले क्षति गरेको छ । असिनाले बालीनालीमा क्षति पुर्याएपछि बटेश्वरको चित्रपुर, विजयपुर र सोनापुरका बासिन्दा चिन्तामा परेका छन् ।
आइतबार राति साढे ८ बजेट करिब आधा घण्टा असिनापानी परेको थियो । असिनापानीले मुख्य आयस्रोत रहेका आँप र बालिनाली क्षति भएपछि किसानहरु चिन्तित भएका हुन् ।
बालिनालीको साथै धेरै स्थानीयको टालीले छाएको घरको छानासमेत असिनापानीले फुटाएको छ । सम्बन्धित पक्षबाट भएको क्षतिको निरीक्षण गरेर राहतको व्यवस्था गर्नुपर्ने कृषकहरुको माग छ ।
बटेश्वर गाउँपालिका कार्यालयमा किसानहरुले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।