सर्वोच्चको आदेश पछि सिंहदरबारको फोहोर उठ्न थाल्यो

काठमाडौँ । बैशाख ११, सर्वोच्चको आदेश पछि सिंहदरबारको फोहोर सोमबारदेखि उठ्न थालेको जनाएको छ ।
सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो ।
मेयर बालेन्द्र साह(बालेन) फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन ।
महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन खोज्दा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर साहले बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा सिंहदरबारको फोहोर लैजान नदिने अडान राखेका थिए ।
मेयर साहको अडान कै कारण सिंहदरबार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या आएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका थिए ।
उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा शुक्रबार आदेश जारी गरेको थियो ।