कोशीको बजेट विधेयकमा एमाले र राप्रपाद्धारा खर्च कटौतीको प्रस्ताव

काठमाडौं । मंसिर १३, कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाले आठ वटा खर्च कटौतीको प्रस्ताव दर्ता गरेको छ ।
अध्यादेशको बजेट प्रतिस्थापनका लागि पेश भएको विनियोजन विधेयकमाथि एमालेले ६ वटा र राप्रपाले २ वटा खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् ।
सोमबार र मंगलबार प्रदेशसभामा विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि छलफल भएको थियो ।
छलफलपछि खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि बुधबार विहान ११ बजेसम्मका लागि समय दिइएको थियो । सो समयमा आठवटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
बुधबार दिउँसो १ बजेपछि प्रदेशसभा बैठक बस्दैछ । बैठकबाट विनियोजन विधेयक पास गर्ने सरकारको तयारी छ ।