अस्ट्रेलियामा नेपालीको संख्या एक दशकमा झन्डै पाँच गुणाले वृद्धि

सहयात्रा टिभी

काठमाडौं । मंसिर १३, अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको जनसंख्या एक दशकको अवधिमा झन्डै पाँच गुणाले वृद्धि भएको छ ।

इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले सन् २०२६ मा सार्वजनिक गरेको नेपाली डायस्पोरा इन अस्ट्रेलिया शीर्षकको अध्ययनअनुसार सन् २०२५ जुनसम्म अस्ट्रेलियामा नेपालमा जन्मिएका २ लाख १३ हजार ५८० जना बसोबास गरिरहेका छन् ।

अध्ययनअनुसार सन् २०१४ मा अस्ट्रेलियामा नेपालमा जन्मिएका नेपालीको संख्या ४२ हजार ९०० थियो । एक दशकको अवधिमा यो संख्या करिब पाँच गुणाले बढेको हो । सन् २०२१ को जनगणनामा नेपालमा जन्मिएका १ लाख २२ हजार ५०६ जना अस्ट्रेलियामा रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

आईआईडीएसले अस्ट्रेलियास्थित नेपाली दूतावासको सहकार्यमा तयार पारेको उक्त अध्ययनले नेपाली समुदायको जनसंख्या वृद्धिसँगै सामाजिक, आर्थिक र व्यावसायिक अवस्थाको समेत विश्लेषण गरेको छ ।

अध्ययनका लागि १ हजार ८९ जनाबाट सर्वेक्षणमार्फत जानकारी संकलन गरिएको थियो । त्यसैगरी, विभिन्न सरोकारवालासँग १८ वटा अन्तर्वार्ता र दुईवटा समूहगत छलफल गरिएको थियो

अध्ययनमा सहभागीमध्ये ६१.१६ प्रतिशतले उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएको बताएका छन् । त्यस्तै, करिब २३ प्रतिशतले परिवारसँगको पुनर्मिलनलाई अस्ट्रेलिया आउनुको प्रमुख कारण बताएका छन् ।

अध्ययनअनुसार अस्ट्रेलियामा नेपाली समुदायको उपस्थिति विद्यार्थी र कामदारमा मात्र सीमित नरही व्यवसाय, व्यावसायिक सेवा, उद्यमशीलता, लगानी तथा विभिन्न सामाजिक क्षेत्रमा विस्तार हुँदै गएको छ ।

अस्ट्रेलियामा रहेका नेपालीको आर्थिक अवस्था पनि अध्ययनमा समेटिएको छ । सर्वेक्षणमा सहभागीमध्ये ४५।२७ प्रतिशतको वार्षिक आम्दानी ६५ हजारदेखि १ लाख २० हजार अस्ट्रेलियन डलरको बीचमा रहेको देखिएको छ । त्यस्तै, करिब ३५ प्रतिशतले अस्ट्रेलियामा औपचारिक रूपमा लगानी गरेको बताएका छन् ।

अध्ययनले नेपाली डायस्पोराको योगदानलाई नेपालमा पैसा पठाउने कार्यमा मात्र सीमित नगरी ज्ञान, सीप, प्रविधि, व्यापार, पर्यटन, लगानी र उद्यमशीलताको विकाससँग जोडेर हेरेको छ ।

आईआईडीएसका कार्यकारी अध्यक्ष डा.विश्वास गौचनले नेपाली डायस्पोराको आर्थिक तथा बौद्धिक क्षमतालाई नेपालको विकासमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । अध्ययन प्रस्तुत गर्ने स्नेहा घिमिरेले पनि नेपाली डायस्पोराको भूमिका र योगदान रेमिट्यान्सभन्दा फराकिलो बन्दै गएको उल्लेख गरेकी छन् ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत साइमन अर्नेस्टले पनि अस्ट्रेलियामा रहेको नेपाली समुदायलाई नेपाल र अस्ट्रेलियाबीच आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण सेतुका रूपमा व्याख्या गरेका छन् ।

आईआईडीएस र नेपाली दूतावासको संयुक्त आयोजनामा उक्त अध्ययनसम्बन्धी प्रतिवेदन सन् २०२६ मे १८ मा काठमाडौंमा सार्वजनिक गरिएको थियो ।

प्रकाशित : 29 November, 2026

प्रतिक्रिया दिनुहोस्