लामिछानेले आफूखुसी प्रमाण सिर्जना गरेको कानून व्यवसायीको जिकिर

सहयात्रा टिभी

काठमाडौं । पुस ४, गौशाला–२६ का कानून व्यवसायीहरुले जिल्ला अदालत काठमाडौंमा बहसनोट पेश गर्दै बलात्कारको आरोपबाट उन्मुक्ति पाउन सन्दीप लामिछानेले आफूखुसी प्रमाण सिर्जना गरेको जिकिर गरेका छन् ।

पीडितकातर्फबाट वकालत गरेका आठ जना कानून व्यवसायीहरुले क्रिकेटर सन्दीप लामिछानेले आफूमाथिको आरोप खण्डित गर्नुभन्दा पनि पीडित गौशाला–२६ नाबालिका होइनन् भनी स्थापित गर्न उमेरको विवाद निकालेको जिकिर गरेका छन् ।

सन्दीप लामिछानेमाथि बलात्कारको किटानी जाहेरी दिएकी पीडितलाई प्रहरीले ‘गौशाला–२६’ भनी सांकेतिक नाम दिएको छ ।

बहसनोटमा कानून व्यवसायीहरुले भनेका छन्, ‘प्रस्तुत मुद्दामा सन्दीप लामिछानेले आफूमाथिको आरोप खण्डित गर्नुभन्दा पनि पीडित नाबालिक होइनन् भनी स्थापित गर्न धेरै ध्यान दिएको देखिन्छ ।’

क्रिकेटर लामिछानेमाथि ५ भदौ २०७९ मा एक नाबालिका किशोरीलाई बलात्कार गरेको आरोप छ । जिल्ला अदालत काठमाडौंमा दायर मुद्दा १६ महिनादेखि विचाराधीन छ ।

त्यही मुद्दामा जिल्ला अदालतले दुवै पक्षलाई एक महिनाको समय दिएर बहसनोट पेश गर्न भनेको थियो । सन्दीपका कानून व्यवसायीहरुले सन्दीपको संलग्नताको प्रतिवादमा भन्दा पनि पीडितको उमेर विवादमा ज्यादा जोड दिएका छन् । उनीहरुको दाबीमा घटनाको दिन गौशाला २६ बालिग थिइन् ।

प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन अनुसार, १८ जेठ २०६२ मा जन्मेकी पीडित घटनाका बेलामा १७ वर्षकी मात्रै थिइन् । सन्दीपले भने घटनाका बेलामा पीडित बालिग भएको दाबी सहित पीडितको जन्म २०६१ सालमा भएको जिकिर गरेका थिए ।

नाबालिगसँग मञ्जुरीमै हुने ‘सम्बन्ध’ समेत बलात्कार मानिने भएकाले सन्दीपले घटनाको मितिमा पीडित बालिग भइसकेको दाबी सहितका कागजात पेश गरेका थिए ।

बहसनोट अनुसार, सर्वोच्च अदालतले एउटा मुद्दामा जन्ममितिको विवाद भएमा ‘जन्मदर्ताको कागजात निर्विकल्प हुने’ भनी नजीर प्रतिपादन गरेको थियो । कानून व्यवसायीहरुले जन्मदर्ताको कागजातमा नै पीडितको जन्ममिति १८ जेठ २०६२ भएकाले घटनाका दिन उनी नाबालिक रहेको जिकिर गरेका छन् ।

कक्षा ८ को मार्कसिट, नागरिकताको प्रमाणपत्र लगायतमा समेत त्यही मिति रहेकाले सन्दीपको दाबी निराधान हुने उनीहरुको जिकिर छ ।

सन्दीपले पीडितको र उनीसँग सम्बन्धित भनी अदालतमा पेश गरेको बसाइ सराइ दर्ता किताब, जन्मदर्ता किताब, जन्मदर्ता प्रमाणपत्र, जन्मदर्ता फारम, अस्पतालको दर्ता किताब स्थानीय तहको विवरण अनि अस्पतालको विवरण एक आपासमा बाझिएको भनी बहसनोटमा विश्लेषण छ ।

 

 

प्रकाशित : 20 December, 2023

प्रतिक्रिया दिनुहोस्