एनएसएलमा आज काठमाडौं र वीरगञ्ज भिड्दै

सहयात्रा टिभी

काठमाडौं । पुस ५, नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज साविक विजेता काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

साविक विजेता काठमाडौंका लागि शीर्ष चारमा पुग्न यो खेल महत्वपूर्ण छ । काठमाडौं ६ खेलबाट ९ अंकसहित पाँचौ स्थानमा छ । आज वीरगञ्जलाई हराएमा काठमाडौंले दोस्रो स्थानको धनगढी एफसीसँग अंक बराबरी गर्नेछन् ।पोखरा थण्डर्स ७ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ र प्लेअफमा स्थान पक्का गरिसकेको छ । यस्तै ललितपुर सिटी एफसी र झापा एफसीको समान १० अंक छ । गोलअन्तरमा ललितपुर अघि छ ।

प्लेअफका बाँकी तीन स्थानका लागि मुख्य गरी धनगढी, ललितपुर, झापा र काठमाडौं ४ टिम होडमा छन् । त्यसैले अब हुने हरेक खेल महत्वपूर्ण हुनेछ । तर वीरगञ्जको पनि शीर्ष चारमा रहने अंकगणितीय सम्भावना बाँकी नै छ । वीरगञ्ज हाल ६ खेलबाट ५ अंकसहित अन्तिम स्थानमा छ । वीरगञ्जले बाँकी दुवै खेल जितेमा ११ अंक हुनेछ र यस्तो भएमा वीरगञ्जले अन्य टोलीको नतिजा पनि कुर्नुपर्नेछ ।

प्रकाशित : 21 December, 2023

प्रतिक्रिया दिनुहोस्