क्रिसमस फेस्टिभलको अभिव्यक्तिले मन्त्री किराती विवादमा तानिए

काठमाडौं । पुस ५, प्रधानमन्त्री प्रचण्ड जाने भनिएको क्रिसमस फेस्टिभलमा उनको प्रतिनिधित्व गर्दै पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती आफ्नै बोलीका कारण विवादमा तानिएका छन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड नै आउने कार्यक्रम भए पनि क्याबिनेट बैठकपछि समेत व्यस्त हुने सूचना पाएको कारण आफू आएको बताए ।
उनले प्रधानमन्त्रीको तर्फबाट शुभकामना दिए । प्रधानमन्त्री नआएकामा सानो मन नगरिदिन उहाँको तर्फबाट सन्देश दिए ।
उनले संविधानको धर्मनिरपेक्षतालाई व्याख्या गर्दै राज्य सबै संस्कृतिहरुको अभिभावक भएकाले कोही त्रासमा नबाँच्न आह्वान गरे ।
‘लोकतान्त्रिक गणतन्त्रमा पनि डरत्रास छ कि ? हामी कसैले डराउनुपर्ने स्थिति छैन । संविधानले दिएको अधिकारमा आधारित (भएर) हामी बाँचेका छौं ।
टुँडिखेलमा गएर सबैले सुन्नेगरी हामी पनि यही देशका फूल हौं भन्नुहोला’, किरातीले भने, ‘राज्य छ तपाईंहरुको अभिभावक । कोही डराउनुपर्दैन ।’
‘कसैको दायामायाले होइन, हजारौं शहीदको बलिदानले लेखेको संविधानको बगैँचामा तपाईंहरु एकथरि फूल हो । तपाईंहरुविना बगैंचाको शोभा हुँदैन,’ उनले भने, ‘तीन करोड नेपालीमा लाखौं क्रिश्चियन भइसकेका छन् ।
क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्ने हो ।’
दर्शकदीर्घामा क्रिश्चियनहरुको तालीमा देखिएको समर्थन माहोल देखेपछि मन्त्री किरातीले भने, ‘विश्वमा ८५ प्रतिशतले धर्म मान्छन्, १५ प्रतिशतले धर्म मान्दैनन् । धर्म मान्नेहरुको कुल संख्यामध्ये ३० प्रतिशतले क्रिश्चियन मान्छ । यो संसारकै ठूलो धर्म हो ।’
उनले क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टलाई नेपालका प्रधानमन्त्री प्रचण्डसँग तुलना गरे । दुवैजना आआफ्नो समयका क्रान्तिकारी प्रश्नकर्ताहरु भएको दाबी किरातीले गरे ।
मन्त्री किरातीले भने, ‘यो बेला संसारमा क्राइस्ट भएको भए उहाँ प्रचण्डजस्तै हुनुहुन्थ्यो । म उहाँहरुलाई बराबरजस्तै देख्छु । आज प्रचण्ड यहाँ आएको भए क्राइस्ट आएजस्तै हुन्थ्यो ।’
तालीको अटुट क्रम चलिरह्यो । क्रिश्चियनको चाडपर्वमा शुभकामना आदानप्रदान गर्ने क्रममा मन्त्री किराती भावनात्मक बने ।
‘पहिलेको समयमा भए क्रिश्चियनलाई भेटे खैनी माडेजस्तै माड्थे, अहिले पनि हामी अग्रगामीहरु कमजोर भयौं भने खान्छन् टेकेर,’ किरातीले भने, ‘क्रिसमसमा आधा बिदा किन भन्ने प्रश्न छ । नहुनु भन्दा कानो मामा निको । हामी कमजोर भयौं भने नेपालमै बस्न नपाइने अवस्था पनि आउन सक्छ ।’
मन्त्री किरातीले अर्को प्रस्ताव राखे, ‘कि अरु धर्मको चाडको पनि बिदा काट्नुपर्छ, कि यसको (क्रिसमसको) पनि पूरै दिनुपर्छ । कि सबैको काट्ने, कि यसको बिदा पनि पूरा दिने ।’
भाषा वाङ्मयमा रुचि राख्ने किरातीले आफ्ना भाषामा भावनात्मक शब्दहरु पनि घुसाउँदै गए, ‘क्राइस्टलाई साक्षी राखेर, मैले बालेको बत्तीलाई साक्षी राखेर म प्रधानमन्त्रीलाई आजै (बिदा घोषणाबारे) भन्छु । मेरो तर्फबाट पनि उठाइरहन्छु ।’
आफू धर्म नमान्ने व्यक्ति भन्दै उनले धार्मिक आस्था र राजनीतिलाई पनि मिसमास गरे । उनले नेपालमा माओवादीले गरेको सशस्त्र युद्ध र जिसस क्राइस्टको धार्मिक आह्वानलाई तुलना गरे ।
‘नेपालमा हामीले जनयुद्ध गर्दा सत्रहजार मानिसहरु जिससजस्तै झुन्डिए, झुन्ड्याइए’, किरातीले भने, ‘आजको धर्मनिरपेक्ष संविधान त्यसै अनुसार आएको हो । रगतले साटेर परिवर्तन आएको हो । यसलाई दुई चार हाप्सिला (फ्याउरा) कराउँदैमा हटाउन सकिँदैन ।’
मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर अरु राजनीतिक दलका नेता कार्यकर्ताले प्रतिक्रिया जनाएका छन् । रास्वपा सभापति रवि लामिछानेले मन्त्री किरातीले साम्प्रदायिक विद्वेष फैलाएको टिप्पणी गर्दै राजीनामा मागेका छन् । उनले लेखेका छन्, ‘संस्कृति मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ ।’