कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

काठमाडौं । पुष १६, नेपाली कांग्रेसले आज ४८औं राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ । प्रज्ञा भवन कमलादीमा दिउँसो एक बजे हुने कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरु पनि सहभागी हुँदैछन् ।
कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गर्दछ । यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर लगायतलाई निम्तो गरिएको छ ।
यसपटक राष्ट्रिय एकता र मेलमिलाप दिवस फरक तरिकाले मनाउने कांग्रेसले निर्णय गरेको थियो । साझा मुद्दाहरुमा सरकार र प्रतिपक्ष नहुने उल्लेख गर्दै महामन्त्री गगन थापाले संविधान पक्षधर शक्तिको थप एकता आवश्यक रहेकाले मेलमिलाप फरक तरिकाले मनाउन लागिएको जानकारी दिए । ‘राजनीतिक दल विच केही मुद्दामा प्रतिस्पर्धा हुन्छ । केही कुरामा राष्ट्रिय दृष्टिकोण चाहिन्छ,’ महामन्त्री गगन थापाले भने, ‘संविधान बनायौं, केही कुरा अड्किएर बसेका छन् । संविधान कार्यान्वयनमा अड्किएका विषयलाई टुंग्याउन को सत्तापक्ष र को प्रतिपक्षले अर्थ राख्दैन ।’