बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं । पुष १६ , सरकारले बालकुमारी घटनाको छानबिनका लागि उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरेको हो । पूर्व एआईजी अरुण बिसी र गृहका सहसचिव नारायण प्रसाद भट्टराई आयोगमा सदस्य रहेका छन् । सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बालकुमारी घटनामा भएको मानवीय र अन्य क्षतिको विवरण अध्ययन गर्ने जिम्मेवारी आयोगलाई दिइएको छ ।
घटनामा भएका कमीकमजोरीहरूको अध्ययन र घटनासँग सम्बन्धित व्यक्ति तथा निकायहरूको भूमिकाको अध्ययन गरी आयोगले प्रतिवेदन बुझाउने छ । एक महिनाको समय दिइएको आयोगलाई घटनामा जो दोषी देखिए पनि कारबाहीका लागि सिफारिस गर्न कार्यादेश दिइएको छ । यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन भइसकेको छ ।
शुक्रवार दिउँसो ईपीएस परीक्षाका विषयमा भएको प्रदर्शनका क्रममा जुम्लाका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । सुजनको किस्ट र वीरेन्द्रको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सरकारले यसअघि मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत घोषणा गरिसकेको छ ।