केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

सहयात्रा टिभी

खोटाङ । चैत १०, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार दश हजार रुपैयाँका दरले राहत रकम प्रदान गरेको हो ।

कोषले घर जलेर विस्थापित भएका जन्तेढुङ्गा गाउँपालिका– ४ डम्बर्खुशिवालयका धनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १२ जालपाका भगतबहादुर राई र भीमबहादुर राई, हलेसी तुवाचुङ नगरपालिका– ८ धितुङका ज्ञानमाया राई र टेकबहादुर राई, ऐसेलुखर्क गाउँपालिका– ६ ज्यामिरेका खुतप्रसाद फुयाँल र बुद्धिनाथ लम्साल तथा जन्तेढुङ्गा गाउँपालिका– ६ दिप्लुङका इन्द्रबहादुर राईलाई राहत रकम प्रदान गरिएको कोषका कोषाध्यक्ष युगसन किरातीले जानकारी दिए ।

प्राकृतिक विपत्तिमा परेका जिल्लावासीको सहयोगार्थ हङकङमा रहेका खोटाङ्गेको अगुवाइमा २०७२ सालमा कोष स्थापना भएको हो । प्रारम्भमा २० लाख जम्मा गरेर स्थापना भएको कोषमा अहिले ३० लाख सङ्कलन भएको र ब्याजबापत प्राप्त हुने रकम जिल्लाका विपत्तिमा परेका जिल्लाका नागरिकलाई राहतस्वरूप प्रदान हुँदै आएको कोषाध्यक्ष किरातीले बताए ।

कोषले घरमा आंशिक क्षति भएका पीडित परिवारलाई प्रतिपरिवार पाँच हजार र पूर्ण क्षति भएकालाई दश हजारका दरले राहत रकम उपलब्ध गराउँदै आएको छ । दश स्थानीय तह रहेको खोटाङमा गत फागुन ११ गतेदेखि हालसम्म १६ वटा घर र १९ वटा गोठ जलेका छन् । गोठमा बाँधिएका ७१ वटा चौपाया मरेका छन् । आगलागीका यी घटनाबाट एक करोड ६३ लाख ७७ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

प्रकाशित : 23 March, 2024

प्रतिक्रिया दिनुहोस्