कक्षा १२ पास गरेपछि जनरल नर्सिङ पढ्न पाउने

काठमाडौं । चैत २३, कक्षा १२ पास गरेका विद्यार्थीहरुले पढ्न पाउने नयाँ नर्सिङ कोर्ष सुरु हुने भएको छ । ‘जनरल नर्सिङ कार्यक्रम’को अवधि दुई वर्षको हुनेछ ।
नर्सिङ विधाबारे अध्ययन गरेर सुझाव दिन प्रा.डा. कुन्तादेवी पुनको नेतृत्वमा बनेको कार्यदलले दिएको सुझावअनुसार जनरल नर्सिङ कार्यक्रम सुरु गर्न लागिएको चिकित्सा शिक्षा आयोगले बताएको छ ।
९ चैतमा बसेको आयोगको १३औं बैठकले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
संविधान २०७२ कार्यान्वयनको क्रममा २०७५ सालमा संसदले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन बनायो, जसले ९ देखि १२ कक्षालाई माध्यमिक शिक्षा तोक्यो ।
त्यसलाई आधार बनाएर नर्सिङ कार्यदलले नर्सिङ कार्यक्रम पनि माध्यमिक शिक्षा पुरा गरेपछि मात्र सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ ।
जनरल नर्सिङ कार्यक्रम पूर्ण रुपमा कार्यान्वयनमा आएको ५ वर्षभित्र पीसीएल नर्सिङ कार्यक्रम फेजआउट गर्दै लैजानुपर्ने समेत कार्यदलको सुझाव छ ।
कार्यदलको सिफारिस कार्यान्वयन गर्ने निर्णय गर्दै चिकित्सा शिक्षा आयोगले जनरल नर्सिङ कार्यक्रमको पाठ्यक्रम बनाउने जिम्मेवारी कार्यदललाई नै दिएको छ । त्यसअनुसार पाठ्यक्रमको ड्राफ गरिरहेको कार्यदल सदस्य केसीले जानकारी दिइन् ।