गौतम बुद्ध क्रिकेट रंगशाला बनाउन एक मात्रै कम्पनीले ठेक्का हाले

सहयात्रा टिभी

काठमाडौं । चैत २३, चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि गरिएको टेन्डर खोलिएको छ ।

विहीबार दिउँसो खोलिएको टेण्डरमा एक मात्रै कम्पनीले ठेक्का हालेको पाइएको महानगरका निर्देशक जगन्नाथ अर्यालले जानकारी दिए ।

३० दिनको म्याद राखेर गत फागुन १७ गते १ अर्ब १० करोडको ठेक्का आह्वान गरिएको थियो ।

महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले एम.ए. कन्स्ट्रक्सन प्रा।लि।ले मात्रै ठेक्का हालेको पाइएको बताए ।

आचार्यका अनुसार १ हप्ता भित्र महानगरले राखेको मापदण्ड भित्र प्राविधिक प्रस्ताव आए/नआएको मूल्याङ्कन गरेपछि मात्रै उसको आर्थिक प्रस्ताव खोलिने र प्राविधिक प्रस्ताव पास नभएमा ठेक्का रद्द गरेर अर्को ठेक्का आह्वान गरिने छ ।

रंगशाला सम्वन्धी नै कामकाज गरेको र ५८ करोडभन्दा बढी टर्न ओभर गरेको अनुभवी ठेकेदार कम्पनी हुनुपर्ने मापदण्डमा राखिएको छ ।

महानगरका इन्जिनियर आचार्यले प्राविधिक प्रस्ताव र अन्य आवश्यक कागजात नमिलेको खण्डमा ठेक्का रद्द गरेर आईसीवीमा जानेबारे महानगरले सोचिरहेको बताए ।

महानगरले थप १० हजार क्षमताको प्याराफिटसहित मैदान लगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिना भित्र काम गरिसक्ने गरी टेण्डर निकालेको थियो ।

वरिष्ठ इन्जिनियर आचार्यका अनुसार नयाँ ठेक्कामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनएजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर लगायतका संरचना बनाइने छ ।

एउटामा भिआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् । यस्तै, गेट, कम्पाउण्डवाल लगायतका थप पूर्वाधार पनि यहीँ भित्र बन्ने आचार्यले जानकारी दिए ।

यसअघि गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ ।

 

प्रकाशित : 5 April, 2024

प्रतिक्रिया दिनुहोस्