मासिक सवा खर्बको आयात हुँदा निर्यात भने खुम्चिदै
काठमाडौं । वैशाख ९ , चालु आर्थिक वर्ष (आव) २०८०/८१ को नौ महिनामा मासिक औसत १ खर्ब २९ अर्ब रुपैयाँबराबर वस्तु आयात भएको छ । तर, निर्यात भने खुम्चिदै गएको छ ।
पछिल्ला केही महिनायता आयात क्रमशः बढ्दै गएको देखिन्छ । फागुनमा १ खर्ब ३३ अर्बको वस्तु आयात भएको थियो । चाडबाडका बेला केही बढेको आयात त्यसपछि खुम्चिन थालेको थियो ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्म ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँबराबर वस्तु आयात भएको छ । जुन औसत मासिक १ खर्ब २९ अर्ब हुन आउँछ । चैतमा मात्र १ खर्ब ३७ अर्ब १४ करोड रुपैयाँबराबर आयात भएको छ ।
गत असोजमा १ खर्ब ४८ अर्बको वस्तु आयात भएको थियो । चैतसम्मको तथ्यांकअनुसार आयात २.८४ प्रतिशतले खुम्चिएको छ । गत वर्ष चैतसम्म १२ खर्ब १ अर्बबराबर आयात भएको थियो ।
यस वर्ष निर्यात औसत मासिक १२ अर्ब ६६ करोडबराबर मात्र भएको छ । तथ्यांकअनुसार नौ महिनामा १ खर्ब १३ अर्ब ९४ करोडबराबर भएको छ ।