डोनाल्ड ट्रम्प विरुद्धको एक मुद्दामा उनको पक्षमा निर्णय सुनाए
काठमाडौं । असार १८, अमेरिकी सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको एक मुद्दामा उनको पक्षमा निर्णय सुनाएको छ ।
जो बाइडेन विरुद्धको चुनावी प्रतिस्पर्धाको बेला ट्रम्पका समर्थकहरूको भिडले संसद् भवनमा घुसेर तोडफोड गरेको मुद्दामा सर्वोच्चले ट्रम्पको पक्षमा निर्णय सुनाएको हो ।
चुनावको परिणाम उल्टाउन ट्रम्पले आफ्ना समर्थकलाई उकासेर तोडफोडमा उतारेको आरोप सरकारले लगाएको थियो ।
तर आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा पुनः बाइडेनविरुद्ध प्रतिस्पर्धामा उत्रिएका ट्रम्पकै पक्षमा सर्वोच्चले निर्णय सुनाएपछि उनलाई राहत मिलेको र बाइडेनलाई ठूलो झट्का लागेको न्यूयोर्क टाइम्सले जनाएको छ ।
संसद् भवनमा भएको तोडफोडको विषयमा आपराधिक मामिलामा मुद्दा नचलाउन अनुरोध गर्दै ट्रम्पले वासिङ्गटनको तल्लो तहको एक अदालतमा अपिल गरेका थिए ।
तर उक्त अपिल अदालतले खारेज गरिदिएको थियो । यद्यपि तल्लो तहको अदालतको सो निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको बीबीसीले जनाएको छ ।
यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतले ट्रायल कोर्टमा फर्काइदिएको छ । अब ट्रायल कोर्टमा राष्ट्रपति निर्वाचनपछि सुनुवाइ हुनेछ ।
यदि ट्रम्पले चुनाव जितेमा यो मुद्दालाई आफ्नो शक्ति प्रयोग गरेर खारेज गरिदिन सक्छन् । त्यसैले सर्वोच्चको निर्णयपछि उक्त मुद्दामा ट्रम्पले राहत पाउने लगभग निश्चित भएको छ ।