सिमलताल दुर्घटना : बेपत्ताको खोजीका लागि भारतबाट उपकरणसहित १० जनाको टोली आउँदै

सहयात्रा टिभी

चितवन । साउन ५, चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी आज पनि जारी रहेको छ ।

आज भारतबाट विशेष उपकरणसहित १० जनाको टोली बस र यात्रुको खोजीका लागि दुर्घटना क्षेत्र सिमलताल आउने भएको छ । गत असार २८ गते शुक्रबार बिहान सिमलतालमा पहिरोसँगै खसेका दुई बसमा ६५ यात्रु रहेकोमा तीनजनाले पौडिएर ज्यान जोगाएका थिए ।

६२ यात्रु बेपत्ता भएकोमा हालसम्म २३ जनाको शव फेला परेको छ । मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन । शवहरु चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा, त्रिवेणी व्यारेज क्षेत्रलगायत घटनास्थलबाट तटीय क्षेत्रमा फेला परेका हुन् । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

 

प्रकाशित : 20 July, 2024

प्रतिक्रिया दिनुहोस्