बंगलादेशमा सरकारको नेतृत्व गर्न नोबेल पुरस्कार विजेता युनुस तयार
काठमाडौं । साउन २२, नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन् ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गरेर अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए ।
सोमबार नै साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरुसँग छलफल गरेका थिए, जसमा उनले अन्तरिम सरकार गठन गर्ने, नयाँ निर्वाचन घोषणा हुने र कर्फ्यु अन्त्यको घोषणा गरे ।
उनले विपक्षी नेता खालिदा जिया र आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरुलाई रिहा गर्न समेत आदेश दिएका छन् ।
आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा अन्तरिम सरकार मान्य नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै विद्यार्थी नेताहरुले अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन प्रस्ताव गरेका छन् ।
उनीहरुले दिउँसो ३ बजेसम्म संसद विघटन गर्न समेत राष्ट्रपतिलाई आग्रह गरेका छन् । यो आन्दोलनलाई हाइज्याक हुन नदिन हामी नागरिकलाई आह्वान गर्दछौं’, विद्यार्थीहरुले भनेका छन् । विद्यार्थीहरुले अन्तरिम सरकारका लागि प्रस्तावित नामहरु चाँडै सार्वजनिक गरिने पनि बताएका छन् ।
यहीबीच नोबेल पुरस्कार विजेता युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न गरेको प्रस्ताव स्वीकारेको समाचार संस्था रोयटर्सले समाचार लेखेको छ ।
उनका प्रवक्तालाई उधृत गर्दै पेरिसमामा सामान्य स्वास्थ्य जाँचपछि उनी बंगलादेश फर्किने भनिएको छ । उनी ओलम्पिक कमिटीको निमन्त्रणामा फ्रान्सको पेरिस गएका थिए ।
स्वतन्त्रता आन्दोलनका सेनानीहरुका परिवारलाई आरक्षणको दिने निर्णयविरुद्ध दुई महिनादेखि चलेको आन्दोलनका क्रममा कम्तिमा ३ सय जनाले ज्यान गुमाएका छन् ।