बंगलादेश आन्दोलनमा विदेशी शक्तिको हात रहेको हसिनाको आरोप

सहयात्रा टिभी

काठमाडौं । साउन २७, बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो हार भएको स्वीकार गरेकी छन् । यद्यपि, आन्दोलनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् ।

आफ्नो पार्टी अवामी लिगका समर्थकहरुलाई पठाएको सन्देशलाई उदृत गर्दै भारतको द प्रिन्टले लेखेको छ, ‘मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें ।’

बंगलादेश र भारतका सञ्चारमाध्यमहरुले यसलाई देश छाडेपछि हसिनाको पहिलो प्रतिक्रिया भनेका छन् । अमेरिकासँग लामो समयदेखि हसिनाको सम्बन्ध तनावपूर्ण थियो ।

उनले गएको जनवरीमा एक जना गोरा व्यक्तिले एयरबेसको बदलामा सहजै शक्ति दिने बताएको अभिव्यक्ति दिएकी थिइन् ।

द प्रिन्टका प्रतिनिधिले हेरेको भनिएको वक्तव्यमा हसिनाले अन्तरिम सरकारलाई विदेशी शक्तिबाट प्रयोग नहुनसमेत चेतावनी दिइएको समाचारमा उल्लेख छ ।

२४ साउनमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसको नेतृत्वमा १७ सदस्यीय सल्लाहकार परिषद् गठन गरेका थिए ।

दुई महिनादेखि चलेको विद्यार्थी आन्दोलनले उग्र रुप लिएपछि २१ साउनमा राजीनामा दिँदै हसिना प्रधानमन्त्री निवासबाटै हेलिकप्टरमार्फत देशबाहिर निस्किएकी थिइन् ।

हाल भारतमा रहेकी उनले आफ्नो वक्तव्यमा भनेकी छन्, ‘मैले राजीनामा दिएँ ताकी मैले शवहरुको जुलुस देख्नु नपरोस् । उनीहरु विद्यार्थीको शरीरमार्फत शक्तिमा आउन चाहन्थे, मैले त्यसलाई अनुमति दिइन ।’

‘म देशमा थिएँ भने अहिले झन् धेरैको मृत्यु हुन्थ्यो होला, धेरै सम्पत्तिमा क्षति पुग्थ्यो होला’, उनले भनेकी छन् । उनले भारतमा अर्को साता सञ्चारमाध्यमहरुसँग आफ्नो भनाइ राख्ने समेत अनुमान गरिएको छ ।

आरक्षणको विरोधमा बंगलादेशमा भएको आन्दोलनमा कम्तीमा ३०० जना मारिएका थिए ।

 

प्रकाशित : 11 August, 2024

प्रतिक्रिया दिनुहोस्