‘ह्रस्व दीर्घ’ले छाड्यो असोज ३ को रिलिज डेट
काठमाडौं । भदौ १, संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको मल्टीस्टारर फिल्म ‘ह्रस्व दीर्घ’ पोस्टपोन्ड भएको छ । हाल मुम्बईमा पोस्ट प्रोडक्सनको काम भइरहेको फिल्मको प्राविधिक टिमले प्राविधिक कामहरू सक्न अझै समय लाग्ने बताएपछि निर्धारित मितिमा प्रदर्शन गर्न नसकिएको अभिनेत्री एवं निर्मात्री नीता ढुंगानाले फेसबुकमार्फत् जानकारी गराएकी छन् ।
असोज ३ गते प्रदर्शन गर्ने गरी निर्माण टिमले विभिन्न चरणमा पोस्टरसहित यसै साता ‘उठेर नाचिस्यो’ गीत सार्वजनिक गरेको थियो । रिलिज सर्ने भएपछि गीतबाट प्रदर्शन मिति समेत हटाइएको छ । बुझिएअनुसार अब फिल्मलाई तिहारपछि रिलिज गर्ने योजनामा निर्माण टिम छ । द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार भएको ‘ह्रस्व दीर्घ’मा नेपाली र भारतीय कलाकारको ‘पल्टन’ नै छ ।
फिल्ममा नेपालबाट नीता ढुंगाना, हरिहर अधिकारी, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, किरण केसी, गरिमा शर्मा, बुद्धि तामाङ लगायतको अभिनय छ भने साउथबाट ब्रम्हानन्दम, अली, ‘गजनी’ भिलेन प्रदीप रावत, ‘पुष्पा’ भिलेन सुनिल वर्मा र कबीर दुहन सिंहको मुख्य भूमिका छ । नीता फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्मको कार्यकारी निर्मातामा धनन्जय गलानी छन् ।
हरिहर अधिकारीको कथा एवं प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका ‘भेट्रान’ छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’, ‘वेलकम ब्याक’ जस्ता कयैन् हिन्दी फिल्म खिचेका छन् । नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज गरिने फिल्मको बजेट ६ करोडमाथि रहेको जनाइएको छ ।