केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वसन्तपुरमा इन्द्रजात्राको रौनक

सहयात्रा टिभी

काठमाडौं । असोज १, वसन्तपुरमा इन्द्रजात्राको रौनक छाएको छ । हिन्दू धर्ममा वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा आराधना गरी मंगलबार काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व मनाइएको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व उपत्यकासँगै धुलिखेल र दोलखामा पनि मनाइन्छ ।

 

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

मंगलबार इन्द्रजात्राको मुख्य दिन बसन्तपुरमा भव्य रुपमा मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, मन्त्रीहरु, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोललगायतले बसन्तपुरमा इन्द्रजात्राको अवलोकन गरेका छन् ।

इन्द्रजात्रामा राष्ट्रप्रमुखले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

 

इन्द्रजात्रामा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

प्रकाशित : 17 September, 2024

प्रतिक्रिया दिनुहोस्