मन्त्री राणाद्धारा विपीन जोशीको रिहाइका लागि विश्व समुदायसँग आग्रह

सहयात्रा टिभी

काठमाडौं ।असोज ८ , परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन् ।

असंलग्न राष्ट्रहरुको संगठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा राणाले जोशीको रिहाइका लागि विश्व समुदायसँग पहलका लागि आग्रह गरेकी हुन् ।

उनले नेपाल विपीन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरेकी हुन् ।

गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतंककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरु पनि कैयौं मानिस मारिएका थिए ।

सो बैठकमा मन्त्री डा राणाले नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको बताइन् । सम्बोधनका क्रममा मन्त्री डा राणाले विश्वमा हाल शान्ति स्थापनाको लागि सामूहिक पहलको खाँचो रहेको पनि औंल्याइन् ।

विभिन्न नाम र बहानामा विश्वका कैयौँ ठाउँमा अहिले पनि युद्ध, विद्रोह तथा हिंसाजन्य कार्यहरु भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

मन्त्री डा राणाले अहिले पनि विश्वका देशहरु निरन्तर रुपमा जारी रहेका यस्ता द्वन्द्व रोक्न, युद्धबाट सृजित समस्याहरुको समाधान खोज्न र नागरिकमा शान्ति र अमनचयन कायम गर्न चुकेको अवस्था देखिएको पनि बताइन् ।

परराष्ट्रमन्त्री डा राणाले गाजामा नागरिकहरुको मृत्यु र यसको संख्या सुन्दा र देख्दा बडो हृदयविदारक रहेको तथा रुस युक्रेन युद्धमा नागरिकहरुले पाइरहेको दुःख पनि त्यस्तै रहेको भन्दै यस्ता हिंसाजन्य कार्यहरु तत्कालै रोकी समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गरिन् । यस्ता कार्यले कसैलाई पनि न्याय गर्न नसकेकोतर्फ सबै सचेत हुनुपर्ने उनको भनाइ थियो ।

मन्त्री राणाले इजरायल र प्यालेष्टिन, रुस युक्रेन होस् या अन्य यस्ता प्रकारका द्वन्द्वहरुको समाधान रचनात्मक तरिकाबाट खोज्न र हिंसा अन्त्यका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध पनि गरिन् ।

 

प्रकाशित : 24 September, 2024

प्रतिक्रिया दिनुहोस्