सुकिला नोटको वितरण आजदेखि
काठमाडौं । असोज १३, दसैँका लागि ‘सुकिला नोट’को वितरण आजदेखि सुरु हुँदैछ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखाहरूबाट नोट सटहीको गरिनेछ ।
बैंकका प्रवक्ता रामु पौडेलले यसका लागि सम्बन्धित संस्था तथा शाखा कार्यालयलाई निर्देशन दिइसकेको र आवश्यक नोट उपलब्ध समेत गराएको बताए । ‘सर्वसाधारणलाई चाहिनेजति नोट सटही गर्न सक्ने व्यवस्था गरेका छौँ,’ प्रवक्ता पौडेलले भने, ‘बैंकहरु आफैँसँग पनि त्यस्तो नोट छ, नपुगेको नोट राष्ट्र बैंकले उपलब्ध गराउँछ ।’
कस्तो हुन्छ सुकिलो नोट ?
सरकारले यसअघि नयाँ नोट वितरण गर्दै आएको थियो । यस्तो नोट छपाइ गरेर ल्याएपछि पहिलोपल्ट ढुकुटीबाट निकालिन्थ्यो र सटही गरिन्थ्यो । नयाँ नोट पाएकाहरू सम्बन्धित नोटको पहिलो प्रयोगकर्ता हुन्थे । त्यसरी प्राप्त गर्ने नोटको नम्बरसमेत क्रमबद्ध हुन्थ्यो ।
आजदेखि सटही हुने नोट भने कम्तीमा एकपटक बजारमा पुगेर फर्किसकेको हुनेछ । प्रवक्ता पौडेल अनुसार देख्दा यी नोटहरू पनि नयाँ हुने बताउँछन् । सामान्यत: एकपटक प्रयोग भएर आएको पैसालाई सटही गर्ने उनको भनाइ छ । प्रयोग भइसकेकोले सामान्यत: नोटको नम्बरमा क्रम पनि मिल्दैनन् ।
बजारमा नयाँ नोटको सट्टा सुकिला नोटको वितरण गर्ने निर्णय गरेका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकका कर्मचारीमार्फत हुनसक्ने नयाँ नोटको चुहावटमा समेत कडाइ गर्न निर्देशन दिएका छन् ।
राष्ट्र बैंकले २०७९ सालमा झन्डै २२ अर्ब रुपैयाँको नयाँ नोट सटही गरेको थियो । अघिल्लो वर्ष भने यसका लागि झन्डै १३ अर्ब रुपैयाँ छुट्टाएको थियो । तुलनात्मक रुपमा कम रकम छुट्टाउँदा अघिल्लो वर्ष बजारमा नयाँ नोटको अभावको अवस्था समेत देखिएको थियो ।
यसरी बजारमा माग हुनेजति सटही गरिदिँदा २०/२२ अर्बको नयाँ नोट बजारमा जाने भन्दै यसको छपाइ लागत डेढदेखि दुई अर्ब लागत पर्ने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् । नयाँ नोटको वितरण रोक्दा त्यो पैसा बचत हुने उनीहरूको एकसरो बुझाइ छ ।