‘पूर्ण बहादुरको सारङ्गी’को ‘मैजारो’: मुख्य पात्रहरूका जीवन कथा

सहयात्रा टिभी

काठमाडौं । असोज १८,बहु प्रतिक्षित नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को नयाँ गीत ‘मैजारो’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रवार यो गीत युट्युब च्यानलमार्फत रिलिज गरेको हो । गीतको शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटीले दिएका छन् ।

गीतले मुख्य पात्रहरूका जीवन कथा बोकेको छ । विशेष गरी गन्धर्व समुदायको प्रेम, वियोग, बिछोड र पीडालाई प्रस्तुत गरेको छ । भिडियोमा प्रमुख कलाकार विजय बराल (पूर्ण बहादुर), अञ्जना बराइली र बलाकलाकार स्वायम् केसीको अभिनय रहेको छ ।

गीतमा पूर्ण बहादुरलाई श्रीमतीले छाडेपछि गाउँगाउँमा सारङ्गी बजाउँदै आफ्नो पीडा सुनाइरहेको देख्न सकिन्छ । उनी गीतसँगै पीडा मात्रै सुनाउँदैनन् सँगै रहेको सानो छोरोप्रतिको जिम्मेवारी रहेको पनि देखाउँछन् । यसले गीत र संवादमार्फत सिनेमाको कथा गीतले संकेत गरेको छ ।

सारङ्गीको धुनसँगै गीतमा प्रेम र पीडाको कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा पूर्णबहादुरले आफ्नो छोरालाई सारङ्गी बजाउन सिकाउँदै गरेको दृश्यले पारिवारिक विरासत र जातीय पेसालाई देखाउने प्रयास गरेको छ ।

यसअघि फिल्मका अन्य दुई गीत ‘काँधेकुरी’ र ‘दाहिने हातैमा’ सार्वजनिक भइसकेका छन् । यो फिल्म कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित फिल्म हो । सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको यो फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् । संगीतकार प्रशान्त शिवाकोटीले फिल्ममा संगीत दिएका छन्, जसमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ ।

प्रकाशित : 4 October, 2024

प्रतिक्रिया दिनुहोस्