नेप्से आज फेरी घट्यो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ७, शेयर बजार परिसूचक नेप्से आज फेरी घटेको छ । आइतवार र सोमवार उच्च अङ्कले घटेर हिजो २५ दशमलव ८८ अङ्कले बढेको नेप्से आज २० दशमलव ४१ अङ्कले घटेर दुई हजार ६ सय ४५ दशमलव ३९ अङ्कमा झरेको छ ।

समग्र सेयर बजारमा बैंकिङ सेक्टरको प्रभाव सबैभन्दा धेरै पर्ने गर्छ । बैंकहरूको पहिलो त्रैमासिक वित्तीय विवरणमा औसत नाफामा सुधार त देखिएको छ तर त्यो नाफा खुद ब्याज आम्दानी (मुख्य बिजनेस) बढेर नभई नियामकीय प्रावधानमा केही सहजताका कारण भएको छ । अर्कोतर्फ निष्क्रिय कर्जामा सुधार देखिएको छैन ।

बैंकहरूले नउठेको कर्जा उठाउने र त्यसले वितरणयोग्य नाफा उच्च दरमा बढ्ने अनुमान रहे पनि कतिपयको वितरणयोग्य नाफा नै ऋणात्मक भएको छ ।

जसले गर्दा बुधबार सेयर बजारमा सबैभन्दा धेरै बैंकिङ सेक्टर घट्यो र यहीं सेक्टरले बजारलाई झार्‍यो ।  नेप्से परिसूचक २०.४१ अंक अर्थात् ०.७६ प्रतिशत घटेको छ । सो गिरावटपछि नेप्से २६४५ अंकमा कायम भएको छ ।

कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब १७ करोडको कारोबार भएकोमा आज ६ अर्ब २७ करोडको भयो । कुल ७६ कम्पनीको मूल्य बढ्दा १५५ को घट्यो भने १३ को स्थिर रह्यो । नेप्से ०.७६ प्रतिशत घट्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १.७० प्रतिशत घट्यो ।

 

प्रकाशित : 23 October, 2024

प्रतिक्रिया दिनुहोस्