निगमले घटायो डिजेल र मट्टितेलको मूल्य
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १६, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले बिहीबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपियाँ घटाएको हो ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एकसय ४७ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि एकसय ४९ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एकसय ५० रुपियाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ र डिजेलमा १.०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।