प्राधिकरणले भोलिदेखि बङ्गलादेशलाई बिजुली बिक्री शुरु गर्ने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २९, नेपाल विद्युत् प्राधिकरणले भोलि शुक्रवार देखि बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री शुरु गर्ने भएको छ ।

यसअघि भएको सम्झौता अनुसार भोलि नोभेम्बर १५ तारिखमा ४० मेगावाट बिजुली भारत हुँदै बङ्गलादेश पठाउन लागिएको जानकारी प्राप्त भएको छ । २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे परियोजनाको बिजुली बङ्गलादेश पठाउने स्रोतले जनाएको छ ।

बङ्गलादेशमा निर्यात गरिने बिजुलीका लागि विभिन्न आयोजनालाई भारतले स्वीकृत गरेसँगै बिजुली पठाउने तयारी भएको हो ।

बङ्गलादेशमा बिजुली पठाउन पनि आयोजना नै तोकेर भारतबाट स्वीकृति लिनुपर्छ । तर यो वर्षका लागि भोलि मात्रै बिजुली बङ्गलादेश निर्यात हुनेछ ।

किनकि नेपाल, भारत र बङ्गलादेशबीच जुनको १५ तारिखदेखि नोभेम्बरको १५ तारिखसम्म मात्रै बिजुली निर्यातको सम्झौता भएको छ ।

सम्झौता अनुसारको अन्तिम दिन भोलि बिजुली बङ्गलादेशमा पठाएर सुखद सन्देश दिन खोजिएको जनाएको छ । भोलिपछि अब आउँदो जुनको १५ तारिखमा मात्रै बङ्गलादेशमा बिजुली निर्यात हुनेछ । नेपालले बिजुली निर्यात गर्दा प्रतियुनिट ६।४० अमेरिकी सेन्ट प्राप्त गर्नेछ ।

नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली बिक्री गर्न गएको असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबीच सम्झौता भएको थियो ।

प्रकाशित : 14 November, 2024

प्रतिक्रिया दिनुहोस्