नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार
सहयात्रा टिभी
काठमाडौं । पुस १६, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।
नेपाल पर्यटन बोर्डको २६औं वार्षिकोत्सवका अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले समग्र पर्यटन उद्योगलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताउनुभयो ।
मन्त्री पाण्डेले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणाअनुरूप सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न भोलिदेखि आउँदो एक दशकसम्म पर्यटन दशक मनाउने उहाँले घोषणा गर्नुभयो ।
विविधताबीचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास गर्नु आजको आवश्यकता भएको मन्त्री पाण्डेको भनाइ छ ।