पुस मसान्तमा नेप्सेसँगै कारोबार रकममा पनि गिरावट
काठमाडौं । पुस २८, चालु आर्थिक वर्ष दोस्रो त्रैमास सकिनै लाग्दा सेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ ।
सोमबार आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम कारोबार दिन हो । त्यसको अघिल्लो दिन आइतबार बजार परिसूचक नेप्सेमा २५.४१ अंक (०.९६ प्रतिशत) को गिरावट भएको छ ।
आइतबार बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत बिहीबार ७ अर्ब नाघेको कारोबार रकम आइतबार भने ४ अर्बभन्दा तल झरेको छ ।
बैंक तथा वित्तीय संस्थामा देखिएको कर्जा असुली समस्या बढ्दै जाँदा दोस्रो त्रैमासमा खराब वित्तीय विवरण आउने शंकाबीच लगानीकर्तामा केही त्रास बढेको छ । जसले गर्दा आइतबार बजार परिसूचकमा उच्च गिरावट देखिएको छ ।
यता, ङ्याग्दी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले गिरावट हुँदा सानिमा ग्रोथ फन्ड इकाइ मूल्य ७.५५ प्रतिशतले गिरावट भएको छ । यस्तै सुपरमादी हाइड्रोपावरको सेयर मूल्य ७.१० प्रतिशतले गिरावट भएको छ ।