बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने

सहयात्रा टिभी

काठमाडौं । पुस २९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ ।

अब अर्को अस्पतालमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ ।

विभिन्न किसिमका बिरामीको रेफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताउनुभएको छ ।

निर्देशिकाले आकस्मिक तथा भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा अर्को अस्पतालमा नपुर्‍याउँदासम्मको जिम्मेवारी प्रथम अस्पतालको हुने निश्चित गरेको छ ।

यसअनुसार प्रथम विन्दुको अस्पतालले त्यहाँ सम्भव नभएको उपचारका लागि मात्र नजिकको अस्पतालमा रेफर गर्नुपर्नेछ ।

यसैगरी प्रथम विन्दुको स्वास्थ्य संस्थाले बिरामीलाई रेफर गर्नुअघि सम्बन्धित अस्पतालमा सम्पर्क गरेर त्यहाँ उपचार, शय्या तथा आवश्यक सेवा भएर/नभएको सुनिश्चित गर्दै समन्वय गर्नुपर्नेछ ।

निर्देशिकामा हरेक अस्पताल, पालिका, प्रदेश र राष्ट्रियस्तरमा रेफरल एकाइ अनिवार्य हुने गरी व्यवस्था मिलाइएको छ ।

निर्देशिकामा बिरामीका आवश्यक जानकारी साझा हुने भएकाले भइसकेको परीक्षण दोहोर्‍याउनु नपर्ने गरी थप जाँच हुने व्यवस्था गरिएको छ ।

 

 

 

प्रकाशित : 13 January, 2025

प्रतिक्रिया दिनुहोस्