बागमती प्रदेशसभाको बैठक बस्दै

सहयात्रा टिभी

हेटौँडा । माघ १८, विपक्षी दलहरूको सहभागिता नभएपछि स्थगित भएको बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजेलाई तय गरिएको बैठकमा तीनवटा विधेयक पेश गर्ने जनाइएको छ ।

बैठकमा प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत हुनेछन् ।

मङ्गलवार बसेको सर्वदलीय बैठकमा आपसी असमझदारी सहमतिकै आधारमा समाधान गरी प्रदेशसभाको बैठक नियमित रूपमा सञ्चालन गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत भएपछि आज ११ बजेलाई प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

सभामुख भुवनकुमार पाठकको आह्वानमा मङ्गलवार बसेको सर्वदलीय बैठकमा प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलगायत विषयमा देखिएका असमझदारीलाई सहमतिकै आधारमा टुङ्गो लगाउने तथा प्रदेशसभामा सरकारलाई विधेयक पेश गर्न दिने सहमति भएको थियो ।

प्रकाशित : 5 February, 2025

प्रतिक्रिया दिनुहोस्