एसियन हाइवे निर्माणले गति लिन थाल्यो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । माघ २५, सडक सञ्जालमार्फत एशियाली देशहरुलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ ।
निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एशियन राजमार्ग नम्बर २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि अहिले ९५ दशमलव ७६ किलोमिटर सडक मात्र ठेक्का लागेर काम भइरहेको छ ।
पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको हो ।
काँकडभिट्टादेखि सीतापुरसम्मको ४५ किलोमिटर सडक दमकमा रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरूखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ ।
दुवै कार्यालयका अनुसार यस एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । यसै आर्थिक वर्षभित्र कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको आयोजनाका दमक कार्यालय प्रमुख सुनिलबाबु पन्तले बताउनुभयो ।
त्यस्तै आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले पनि यसै आर्थिक वर्षभित्र कम्तीमा १० किलोमिटर सडकमा पहिलो चरणको कालोपत्र सक्ने लक्ष्य रहेको बताउनुभयो ।
सडक सञ्चालनमा आएसँगै आयात तथा निर्यात सस्तो पर्नुका साथै ग्रामीण व्यवसाय अन्तर्राष्ट्रिय बजारसँग जोडिने उहाँ बताउनुहुन्छ ।
एशियन हाइवे थाइल्यान्डको बैंककबाट शुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ ।