नयाँ शक्तिको प्रथम महाधिवेशनको मतगणना जारी
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फागुन १, नेसपा (नयाँ शक्ति)को काठमाडौंमा भएको प्रथम महाधिवेशनको मतगणना जारी छ ।
जारी मतगणनामा अध्यक्षका प्रत्यासी डा.बाबुराम भट्टराईले ६८२ मत पाउँदा नेत्र चापागाईंले ७१ मत पाएका छन् । निर्वाचन समितिका अनुसार अब अनलाइन मतदान भएका केही मत गन्न बाँकी छ ।
मतगणनामा सहभागी एक नेताका अनुसार प्रवासमा रहेको ५५ मतमध्ये केहीले मात्रै अनलाइनबाट मतदान गरेका थिए ।
यस्तै गणना भएको मतमध्ये उपाध्यक्षका प्रत्यासी ईश्वर रिजालले ३७४ मत पाएका छन् भने डा. जनक शाहले ३२२ मत पाएका छन् ।
जनजाति उपाध्यक्षमा टेकबहादुर बाठामगरले २९५ मत ल्याएर अग्रस्थानमा छन् । अन्य प्रत्यासीहरू दलबहादुर लिम्बुले १५२, रामबहादुर घलेले ११५ र अनुप सिंह सुवाले ९७ मत ल्याएका छन् ।
मधेशी उपाध्यक्षमा उमेश शाह ३५१ मत प्राप्त गर्दा चिनक कुर्मीले ३५१ मत प्राप्त गरेका छन् । महासचिवमा सोनाम सिंह स्याङ्तानले ३७४ मत ल्याउँदा जिएस गुरुङ (घमान सिंह) ले ३३६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, महिला सचिवमा आशाकुमारी तामाङले २७२ मत ल्याउँदा सिर्जना रिजालले २६३ र सिर्जना सुवेदीले १५३ मत प्राप्त गरेकी छन् ।
खुला सचिवमा भरतराज दाहालले ३४१ मत प्राप्त गर्दा लक्ष्मण कार्की सन्देशले ३१५, छन्दबहादुर पन्थीले २४६ र दान बहादुर सहकारीले १९९ मत प्राप्त गरेका छन् ।
प्रवासबाट खसेको अनलाइन मत गणनापछि नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा आजै साँझ ५ बजे नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोह राखिएको नेसपा नयाँ शक्तिका नेता रुपनारायण श्रेष्ठले जानकारी दिए ।