फुङ्लिङ र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी

सहयात्रा टिभी

काठमाडौँ । फागुन ११, ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । पाथीभरा केबलकार विवाद चर्किँदै गएपछि परिस्थिति प्रतिकूल बन्दै गएकोभन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आइतबार बिहानदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिवार राति अबेर जारी गर्नुभएको सूचनाअनुसार सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र पाथीभराको काफ्ले पाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । शनिवार राति नो केबुलकार समूहले फुङ्लिङमा बजारमा गरेको प्रदर्शनपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको र झडपका कारण परिस्थिति प्रतिकूल भएकाले निषेधाज्ञा जारी गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रजिअ शर्माले संवेदनशील र प्रतिकूल परिस्थिति बनेका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३)(क) बमोजिम निषेधाज्ञा जारी गरिएको उल्लेख गरे । आइतबार बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्म फुङ्लिङ बजार क्षेत्रसहित पूर्वतर्फ दोखु सल्लेरी, पश्चिमतर्फ घोडेटार थलङधारा, उत्तरतर्फ उकालीपानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कञ्चनजङ्घा टोल सीमा निर्धारण गरिएको छ ।

यस्तै पाथीभरा क्षेत्रको काफ्ले पाटी बलुडाँडा क्षेत्रअन्तर्गत पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलुडाँडा डढेले इलाका, उत्ततरतर्फ केबुलकार बेस स्टेशन र दक्षिणतर्फ निर्माणधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा (चार किला) तोकिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र पाँच जना भन्दा बढी मानिस जमघट हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउजस्ता गतिविधि गर्न नपाउने सूचनामा उल्लेख गरिएको छ । निषेधाज्ञाको उल्लङ्घन गरेमा कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।

यता निर्माणाधीन केबुलकारको विषयलाई लिएर शनिवार साँझ सदरमुकाम फुङ्लिङमा आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा दर्जनौं सङ्ख्यामा दुवै पक्षका घाइते भएका छन् । नो केबुलकार समूहले केबुलकारविरुद्ध सदरमुकाममा राँके जुलुस निकालेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोज्दा झडप सुरु भएको थियो । गएको बिहीबार पनि पाथीभरा क्षेत्रस्थित केबुलकार निर्माणस्थलमा पनि नो केबुलकार समूह र प्रहरीबिच झडप भएको थियो । सो झडपमा प्रहरी, आन्दोलनकारी र अन्य गरी १३ जना घाइते भएका थिए

प्रकाशित : 23 February, 2025

प्रतिक्रिया दिनुहोस्