जनताको अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने छ : प्रचण्ड

काठमाडौँ । फागुन १३, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्न नसक्ने बताएका छन् । अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने उनको चेतावनी छ ।
‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’अन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
कसैको दया–मायाबाट नभई संघर्षको बलमा जनताका अधिकार प्राप्त भएको भन्दै उनले त्यसमा आँखा नलगाउन चेतावनी दिए ।
‘हिजो गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयलगाढा चढेर अमेरिका पुगिँदैन भनेर जनताको आन्दोलनलाई होच्याउनेहरू अहिले जनताले पाएका अधिकारलाई माओवादी एजेन्डा देख्न थालेका छन्,’ उनले भने, ‘जुन कुनै बहानामा जनताका अधिकार खोस्न खोजियो भने त्यो महंगो पर्नेछ ।’
अन्य दलसँग संघर्षभन्दा बढी समन्वय गर्दा पार्टी र आफ्ना एजेन्डा कमजोर भएको उल्लेख गर्दै उनले कांग्रेससँग मिल्दा कांग्रेस र एमालेसँग मिल्दा एमाले बलियो हुने तर माओवादी सधैं कमजोर हुने अवस्था अब आउन नदिने बताए ।
अध्यक्ष प्रचण्डले अब दलाल, बिचौलिया र भ्रष्ट दलहरूसँग होइन, उत्पीडित जनतासँग मिलेर समाजवादको यात्रामा अघि बढ्न सङ्कल्पसहित जनतामा आएको धारणा राखे ।