टुँडिखेलमा २६२औं सेना दिवस मनाउदै

काठमाडौँ । फागुन १४, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले बुधबार २६२औं स्थापना दिवस मुलुकभरि विविध कार्यक्रम आयोजना गरी मनाइरहेको छ ।
शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा बुधबार विशेष समारोह आयोजना गरेको छ ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी भएका छन् ।
राष्ट्रपति पौडेल नागरिकको आस्था र भरोसाको केन्द्रका रूपमा रहेको नेपाली सेनाको परमाधिपति हुन् । दिवसको अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन भएका छन् ।
राष्ट्रको संस्कृति र परम्पराका रूपमा रहेको महाशिवरात्रि तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, गण, गुल्म, युनिट र विभिन्न निकायमा सेना दिवस मनाइएको हो ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार ऐतिहासिककालदेखि नै सेना राष्ट्रिय मूल्य, मान्यता, परम्परा र संस्कृतिबाट अभिप्रेरित रहँदै आएको संस्था हो ।