राराको होटलमा आगलागी हुँदा चार भवन नष्ट, गेस्टलाई निकुञ्ज कार्यालय सारियो

मुगु । फागुन १५, रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । होटलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा बुधबार राति भएको आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पुर्याएको थियो ।
प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।