पाँच–पाँच वर्षमा गरिने गैँडा गणना अन्योलमा

सहयात्रा टिभी

काठमाडौँ । फागुन १८, हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिंदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य गरेर गैँडा गणना गर्दै आएका छन् ।

विभागका इकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार युएसएआईडीको जल जङ्गल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो । परियोजनाले सूचना जारी गरी सामग्रीहरु खरिद प्रक्रिया समेत अघि बढाइसकेको थियो ।

निकुञ्जभित्र गणनाका क्रममा आवश्यक जिपिएस उपकरण, ल्यापटप, खाना पकाउने ठूला भाडाहरु, टेण्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको खर्च सोही परियोजनाले बेहोर्ने भएको थियो ।

जलजङ्गलसँगै विश्व वन्यजन्तु कोष नेपाल, जेडएसएल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका सङ्घ संस्थासँगको साझेदारीमा गणना गर्ने तयारी गरिएको थियो ।

उनका अनुसार आगामी चैतभित्रमा गणना गरिसक्नुपर्ने हुन्छ । चैत ५ गतेदेखि २५ गतेसम्म गणना गरेर वैशाखको पहिलो साता नतिजा सार्वजनिक गर्ने तयारी गरिएको थियो ।

अन्तिम समयमा आएर दातृ निकायको कार्यक्रम अन्योलमा परेपछि विभागको गणना कार्यक्रम प्रभावित हुने देखिएको उनले बताए ।

गैँडाको अनुगमन भइरहेको भए पनि यकिन तथ्याङ्क र अवस्था पत्ता लगाउन गणना गर्ने गरिन्छ । सन् २०२१ मा गैँडा गणना गरिएको थियो । गणनासँगै कुन क्षेत्रमा कति गैँडा छन् यकिन हुने र व्यवस्थापनमा सहज हुन्छ ।

चितवन, पर्सा, बर्दिया र शुक्ला फाँटामा राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा छन् । तीमध्ये सबैभन्दा बढी चितवनमा छन् । सन् २०२१ को गणना अनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ । एकसिङ्गे गैँडाको संख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ ।

 

प्रकाशित : 2 March, 2025

प्रतिक्रिया दिनुहोस्