यो साता सेयर बजार २.९ प्रतिशत घट्यो

काठमाडौँ । चैत १ , यो साता सेयर बजार २.९ प्रतिशत अर्थात् ८२ अंक घटेको छ । गत साता २८१८ अंकमा रहेको बजार यो साता २७३६ अंकमा झरेको हो ।
यो साता बजारमा जम्मा ४ दिन कारोबार भयो, जसमा तीन दिन बजार घट्यो भने अन्तिम एक दिन बढ्यो ।
पहिलो दिन आइतबार ४६.३३ अंक घटेको बजार सोमबार २०.६८ र मंगलबार ३२.२१ अंक घट्यो । साताका लागि अन्तिम कारोबार दिन बुधबार १७.२८ अंक बढ्यो । कारोबार रकम केही घटेको छ ।
आइतबार १० अर्ब ९ करोड, सोमबार ८ अर्ब ३७ करोड, मंगलबार ८ अर्ब ३९ करोडको कारोबार भएकोमा बुधबार ८ अर्ब २३ करोडको भयो ।
यो साता सबै सेक्टर घटेका छन् । चार सेक्टर ४ प्रतिशतभन्दा धेरै घटेका छन् । फाइनान्स, उत्पादन, लगानी र व्यापार सेक्टर ४ प्रतिशतभन्दा धेरै घटे ।
विकास बैंक सेक्टरको गिरावट दर सबैभन्दा न्यून छ । गत साता यही सेक्टर सबैभन्दा धेरै ३.१४ प्रतिशत बढेको थियो ।
समग्रमा फागुन महिनाको कारोबार सकिएको छ । १ फागुनमा २६७८ अंकमा रहेको बजार अन्तिम दिनसम्म आउँदा २७३६ अंकमा छ । महिनाको बीचमा भने उतारचढाव ठूलै देखियो । १८ फागुनसम्म आउँदा २८९० अंकसम्म पुगेको थियो । जुन अंक ९ भदौ यताकै उच्च हो ।