चेम्बर अफ कमर्सले बजेटबारे सरकारलाई सुझाव प्रस्तुत

सहयात्रा टिभी

काठमाडौं । वैशाख २९, नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटबारे सरकारलाई एक सय एक बुँदे सुझाव प्रस्तुत गरेको छ ।

सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष एक सय एक बुँदे सुझाव पेस गरेका हुन् ।

सो अवसरमा अध्यक्ष अग्रवालले कृषि, पर्यटन, ऊर्जा क्षेत्रको विकास, रोजगारी सिर्जना, व्यावसायिक र औद्योगिक लगानीको वातावरण तथा उत्पादन वृद्धिलाई पहिलो प्राथमिकतामा राखेर सरकारले बजेट निर्माण गर्नुपर्ने बताए ।

उनले समयमै पुँजीगत खर्च गर्न समयवद्ध तालिकासहितको कार्य योजना बनाउनुपर्ने र प्रत्येक त्रैमासमा यसको समीक्षा गर्नुपर्ने आफूहरूको माग रहेको जानकारी गराए ।

सरकारले लिएको आर्थिक वर्षको लक्ष्य पूरा गर्न नीतिगत स्थायित्वका साथै वास्तविक कर तथा राजस्वको स्रोत परिचालनबाट एवं प्रतिवद्धता प्राप्त वैदेशिक सहायताको आधारमा यथार्थपरक बजेट ल्याउनुपर्ने चेम्बर अफ कमर्सले माग राखेको छ ।

चेम्बर अफ कमर्सले वैदेशिक रोजगारीबाट फर्कनेहरूको सीप र दक्षताको उपयोगको लागि स्वदेशी लगानी प्रोत्साहित गर्नुपर्ने लगायतका सुझाव सरकारलाई दिएको छ ।

 

 

प्रकाशित : 12 May, 2025

प्रतिक्रिया दिनुहोस्