ब्रेक फेल भएको बसले ठक्कर दिँदा मकवानपुरमा ३ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, मकवानपुरको थाहा नगरपालिका–३ स्थित त्रिभुवन राजपथमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सोमबार दिउँसो बज्रबाराहीको गोपालीगाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिँडिरहेका ६ जना पैदलयात्रीलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा स्थानीय झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर, लेखापढी व्यवसायी कृष्ण बलामी र सोही माविका शिक्षक रघुनन्दन यादव रहेका छन्। ठाकुर र बलामीको पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा तथा यादवको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा बाराको जितपुरसिमरा उपमहानगरपालिका घर भएका अन्दाजी ३२ वर्षीय छेयाङ दोर्जे लामा, बाराकै कोल्वी नगरपालिका घर भई झम्केश्वरी माविमा पढाउने अन्दाजी ३० वर्षीय शिक्षक रामगुलाम चौधरी र कमलेशकुमार साह घाइते भएका छन्। लामा र चौधरीको पालुङमा तथा साहको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीले ठक्कर दिने बस तथा चालकलाई नियन्त्रणमा लिएको छ। बसले पैदलयात्रीलाई ठक्कर दिएपछि थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको घरको पर्खालमा ठोक्किएर क्षति पुर्‍याएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : 27 May, 2025

प्रतिक्रिया दिनुहोस्